नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरबाट पेमानिमा शेर्पा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका कार्यसमिति सभापतिमा सर्वसम्मत चयन भएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पा यसअघि पार्टीको महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका थिए । पार्टी संगठन विस्तार, निर्वाचनमा पार्टीको मत वृद्धि तथा प्रवासमा संगठन निर्माणमा योगदान पुर्याउँदै आएका उनी पछिल्लो समय जिल्लास्तरमा उचित राजनीतिक अवसर नपाएको भन्दै असन्तुष्ट थिए ।
२४ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय शेर्पाले नेपालसँगै अमेरिकामा समेत पार्टी संगठन विस्तारमा भूमिका निर्वाह गरेको उनीनिकट स्रोतको भनाइ छ। अमेरिकामा नेपाली कांग्रेसको जनसम्पर्क समितिको नेतृत्व गर्दै उनले प्रवासमा संगठन विस्तार तथा आर्थिक सहयोग जुटाउन योगदान पुर्याएका थिए ।

२०७९ सालको निर्वाचनमा शेर्पा प्रदेशसभा सदस्यको समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरको बन्दसूचीमा समावेश भएका थिए। उनीनिकट व्यक्तिहरूका अनुसार उनको उम्मेदवारीले ओखलढुङ्गामा कांग्रेसको समानुपातिक मत २५ हजारभन्दा बढी पुग्न योगदान गरेको थियो।
शेर्पा समुदायको बाहुल्य रहेको खिजीदेम्बा गाउँपालिकामा कांग्रेसको संगठन विस्तार, स्थानीय निर्वाचनमा पार्टीको मत वृद्धि तथा वडा अध्यक्ष निर्वाचित गराउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको शेर्पाको दाबी छ। लामो समय पार्टी संगठनमा योगदान पुर्याए पनि आफ्नो राजनीतिक योगदानअनुसार अवसर नपाएको उनको गुनासो छ।यसअघि खिजीदेम्बा गाउँपालिका–९ बाट कांग्रेसको संस्थापन पक्षको क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका शेर्पा जिल्लाबाट प्रतिनिधि छनोट गर्ने क्रममा आफूलाई बेवास्ता गरिएको महसुस भएपछि नियमित महाधिवेशन पक्षधरमा आबद्ध भएको उनीनिकट स्रोतले जनाएको छ।
देउवा, कोइराला र थापाबीचको शक्ति संघर्षप्रति असन्तुष्टिशेर्पाले नेपाली कांग्रेसभित्र देखिएको गुटगत प्रतिस्पर्धाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार पार्टीभित्र देउवा, कोइराला र थापाबीचको शक्ति संघर्षले संगठनलाई कमजोर बनाउँदै विभाजनको दिशातर्फ उन्मुख गराएको छ। ‘देउवा, कोइराला र थापाको शक्ति संघर्षले पार्टी विभाजन उन्मुख भएको छ। साँढेको लडाइँमा बाछाको मिचाइ भनेजस्तै हामीजस्ता कार्यकर्ता पीडित भएका छौँ,’ शेर्पाले भने।
पटक–पटक सांसद निर्वाचित हुनुका साथै मन्त्रीसमेत बनेका नेताहरूले राजनीतिक अवसर प्राप्त गरिरहँदा लामो समयदेखि संगठनमा योगदान दिएका कार्यकर्ताले भने उचित अवसर नपाएको उनको गुनासो छ।
त्याग, निष्ठा र इमानदारीको राजनीतिलाई स्थापित गर्न खोज्दा केही युवाहरू आफूलाई राजनीतिक रूपमा कमजोर बनाउने गतिविधिमा लागेको उनको दाबी छ। यद्यपि, उनले आरोप लगाएका व्यक्तिहरूको पहिचान भने खुलाएका छैनन्।
खिजीदेम्बा गाउँपालिका कार्यसमिति सभापतिमा सर्वसम्मत चयन भएसँगै शेर्पाको आगामी राजनीतिक भूमिका र संगठन विस्तारको योजनालाई चासोका साथ हेरिएको छ।लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका शेर्पाले अब गाउँपालिकामा कांग्रेसको संगठनलाई कसरी अघि बढाउँछन् र जिल्लास्तरमा आफ्नो राजनीतिक प्रभाव कसरी स्थापित गर्छन् भन्ने विषय आगामी दिनमा महत्त्वपूर्ण रहनेछ।उनको चयनले खिजीदेम्बा कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ अध्याय थपेको छ।
जिल्लास्तरमा राजनीतिक अवसर र प्रतिनिधित्वको विषयलाई लिएर देखिएको असन्तुष्टिले कांग्रेसभित्र कार्यकर्ताको योगदानको मूल्यांकन र गुटगत प्रतिस्पर्धासम्बन्धी बहसलाई समेत पुनः सतहमा ल्याएको छ।

प्रतिक्रिया