बाढीपहिरोले थलिएको अन्नपूर्णमा बढ्यो चहलपहल

नुतन श्रेष्ठ

असोज दोस्रो साताको वर्षा, बाढीपहिरो र हिमपातले प्रभावित बनेको अन्नपूर्ण चक्रिय पदमार्गमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। दसैं अवधिमा मात्रै ५ हजार ३८४ विदेशी पर्यटकले पदमार्गको यात्रा गरेका छन्, जुन गत वर्षको तुलनामा ७६९ जनाले बढी हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार अक्टोबर १३ मा एकैदिन ५५२ पर्यटक मनाङको धारापानीस्थित चेकपोस्टमा दर्ता भएका थिए। यो वर्षकै एकैदिनको सबैभन्दा बढी पर्यटक आगमन हो। अक्टोबर १४ मा ४७३ र अक्टोबर १५ मा ४४३ पर्यटक पदमार्गमा भित्रिएका थिए।

गत वर्ष दसैं अवधिमा ४ हजार ६१५ विदेशी पर्यटकले अन्नपूर्ण पदमार्गको यात्रा गरेका थिए। यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् अक्टोबर ११ देखि २५ सम्म ५ हजार ३८४ पर्यटकले यात्रा गरेका हुन्।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा र माथिल्लो क्षेत्रमा भएको हिमपातले पदमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो। चामेमाथिको भ्राताङसहित तल्लो मनाङमा सडक र पदमार्ग बगाउँदा पर्यटक आगमन करिब तीन सातासम्म प्रभावित बनेको थियो। असोज ९, १० र ११ गते माथिल्लो मनाङस्थित एक्याप कार्यालयमा पर्यटकको चेकइनसमेत भएको थिएन।

एक्याप धारापानीस्थित पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले मौसम अनुकूल हुनु र पदमार्ग सञ्चालनमा आउन थालेपछि पर्यटक आगमन सहज बनेको बताए।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार बाढीपहिरो र हिमपातका कारण कतिपय पर्यटकले यात्रा छोट्याएर फर्किनुपरेको थियो। विपत्ति सुरु भएको एक साताभित्रै ३७९ विदेशी पर्यटक मनाङबाट फर्किएका थिए। मनास्लु पदमार्ग अवरुद्ध भएपछि केही पर्यटकले अन्नपूर्ण पदमार्ग रोज्नु र पदयात्राप्रतिको आकर्षण बढ्नुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनले बताए।

चामेको ट्रस ब्रिजमा अस्थायी संरचना बनाएर आवागमन सहज पारिएको थियो। त्यस्तै, माथिल्लो मनाङ, थोराङ्ला र तिलिचो क्षेत्रका पदमार्गबाट हिउँ हटाउनुका साथै मर्मतसम्भार गरिएको थियो। मौसममा सुधार र आवागमन सहज भएसँगै पर्यटकको चहलपहल बढेको एक्यापले जनाएको छ।

एक्यापका अनुसार जनवरीदेखि अक्टोबर २७ सम्म अन्नपूर्ण चक्रिय पदमार्गमा ३० हजार १३५ विदेशी पर्यटक भित्रिएका छन्।

लमजुङको बेंसीसहरबाट सुरु हुने अन्नपूर्ण सर्किट मनाङ हुँदै ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ र म्याग्दी हुँदै पोखरा पुगेर टुंगिन्छ। हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र उच्च हिमाली भञ्ज्याङ यस पदमार्गका प्रमुख आकर्षण हुन्। सडक पहुँच विस्तारसँगै पदयात्राको अवधि घटेर एक सातादेखि १० दिनसम्ममा सीमित भए पनि यो पदमार्ग विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ।