जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा जनकपुरले काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

काठमान्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाए । सैफ हसन ४० रनमा नटआउट रहे । अली र हसनबीच तेस्रो विकेटका लागि ७९ रनको साझेदारी भयो । काठमान्डुका रिपोन मन्डोलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो । उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे ।

काठमान्डुको ब्याटिङ ध्वस्त पार्ने क्रममा जनकपुरका राहुल यादवले सर्वाधिक ४ विकेट लिए । सैफ हसनले २ तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले समान १ विकेट लिए ।