चक्रवात ‘अर्नब’को असरले उडान प्रभावित हुन सक्ने, क्यानद्वारा सतर्कता अपनाउन निर्देशन


चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरका विमानस्थल तथा वायुसेवा कम्पनीलाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

प्राधिकरणले बुधबार निर्देशन जारी गर्दै आज र भोलि (अक्टोबर २९ र ३०) चक्रवातको प्रभावका कारण हवाई सेवा प्रभावित हुन सक्ने भन्दै सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो।

प्रतिकूल मौसमका कारण भारी वर्षा, तीव्र हावाहुरी, चट्याङ र कम दृश्यताले विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने प्राधिकरणले जनाएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा उडान सञ्चालन थप चुनौतीपूर्ण हुन सक्ने जनाइएको छ ।

प्राधिकरणले हवाई यातायात व्यवस्थापन इकाइलाई मौसम प्रतिकूल भएमा उडान मार्ग परिवर्तन गर्ने, विमानलाई आकाशमै प्रतीक्षा गराउने तथा वैकल्पिक विमानस्थलमा अवतरण गराउनेलगायत आकस्मिक योजना तयार राख्न निर्देशन दिएको छ ।

त्यस्तै, हावाको गतिमा अचानक परिवर्तन, तीव्र वायुको हलचल र चट्याङसम्बन्धी जानकारी उडानमा रहेका तथा उडान भर्न लागेका विमानलाई तत्काल उपलब्ध गराउन भनिएको छ ।

प्रतिकूल मौसमका समयमा विमानस्थलका वैकल्पिक विद्युत् प्रणाली, सञ्चार उपकरण तथा हवाई मार्ग निर्देशन प्रणाली पूर्ण रूपमा सञ्चालनयोग्य राख्न पनि प्राधिकरणले निर्देशन दिएको छ ।

चक्रवातको प्रभावले विभिन्न प्रदेशमा वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेकाले हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।