सोलुखुम्बुको साहित्यिक विरासतको संरक्षण, नयाँ साहित्यिक प्रतिभाको प्रोत्साहन तथा उच्च शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सोलुखुम्बु इनिसिएटिभले मुक्तिनाथ साहित्य सम्मान–२०८३, आशुकविता सिर्जना प्रतियोगिता तथा नेपाल आईडी शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी कार्तिक २८ गते शनिबार नेचासल्यान गाउँपालिकामा आयोजना हुन लागेको कार्यक्रममा यस वर्षको मुक्तिनाथ साहित्य सम्मान साहित्यकार हरि कट्टेल र डा. मुलीवीर राईलाई प्रदान गरिने भएको छ। सम्मानित दुवै स्रष्टालाई जनही ८ हजार ८४८ रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिनेछ।
सोलुखुम्बु जिल्लाका प्रथम कवि स्वर्गीय मुक्तिनाथ कट्टेलको स्मृतिमा स्थापित उक्त सम्मान गत वर्षदेखि प्रदान गर्न थालिएको हो। यसको पहिलो संस्करण २०८२ मा साहित्यकार डा. रेणुका सोलुलाई प्रदान गरिएको थियो।त्यसैगरी, नयाँ साहित्यिक प्रतिभाको पहिचान र सिर्जनशीलताको विकास गर्ने उद्देश्यले कार्यक्रमस्थलमै आशुकविता सिर्जना प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगीलाई कार्यक्रमस्थलमै कविताको शीर्षक उपलब्ध गराइने र निर्धारित समयभित्र कविता सिर्जना गर्नुपर्नेछ। प्रतियोगितामा प्रथम हुनेले ६ हजार, द्वितीयले ४ हजार, तृतीयले २ हजार तथा तीन जना सान्त्वना पुरस्कार विजेताले जनही १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी सबैलाई प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
यसै अवसरमा नेपाल आईडी शैक्षिक छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनोट भएका पाँच जना विद्यार्थीलाई जनही ८ हजार ८४८ रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिनेछ। सोलुखुम्बुबाट कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त छात्रवृत्ति कार्यक्रम सुरु गरिएको हो।कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि राजभण्डारी प्रमुख अतिथि तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
सोलुखुम्बु इनिसिएटिभका अध्यक्ष रोहित बास्तोलाले कार्यक्रममार्फत जिल्लाको साहित्यिक इतिहासको संरक्षणसँगै नयाँ पुस्तामा सिर्जनशीलता र उच्च शिक्षाप्रतिको उत्साह अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया