यूएईविरुद्ध पनि नेपालको ब्याटिङ कमजोर, १५३ रनमै अलआउट


एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पनि कमजोर ब्याटिङ गरेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। उनले ७१ बलमा तीन चौका प्रहार गरे। त्यस्तै, सचिन भट्टले ५५ बलमा ३२ रन जोडे।

दर्श सोनारले २२ बलमा १६, निरजकुमार यादवले २० बलमा १६ र आशिष लुहारले १३ बलमा ११ रन बनाए। निश्चल क्षेत्रीले नौ, शुभम खनालले नौ, कप्तान विपिन शर्माले अविजित नौ, नितेश पटेलले पाँच र सुशील रावलले दुई रन बनाए। प्रसिद्ध जैसी भने खाता नखोली आउट भए।

नेपालको सुरुवात नै कमजोर रह्यो। पहिलो विकेटका रूपमा निरजकुमार यादव १८ रनको स्कोरमा आउट भए। त्यसपछि प्रसिद्ध जैसी र निश्चल क्षेत्री पनि छिट्टै आउट हुँदा नेपालले ३६ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो।

त्यसपछि सोहेल कुँवर र दर्श सोनारले पारी सम्हाल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा नेपाल ठूलो योगफल बनाउन असफल भयो।

यूएईका नसीम खानले आठ ओभरमा ४३ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए। अयान मिस्बाहले १० ओभरमा २२ रन दिँदै तीन विकेट लिए भने नुरुल्लाह अयोबीले दुई विकेट हात पारे।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।