नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा खानेकुरा खान दिने परम्परा छ ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज शनिबार काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन् ।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा लिने गरिन्छ । कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने विश्वासका साथ आजका दिन कागलाई पूजा गरी मीठा खानेकुरा खान दिने चलन छ ।
लोकपरम्पराअनुसार काग घरआँगनमा आएर कराएमा शुभ खबर आउने विश्वास गरिन्छ । त्यसैले कागलाई शुभ बोल्न आग्रह गर्दै मीठो खानेकुरा दिने प्रचलनसमेत रहेको छ ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ । त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको पूजा गर्ने परम्परा छ ।
तिहारसँगै यमराजको पूजा र दीपदान गर्ने परम्परा पनि जोडिएको छ । परिवारका सदस्यको नाममा यमदीपदान गर्ने क्रम शुक्रबार साँझदेखि नै सुरु भएको छ । वैदिक सनातन शास्त्रीय मान्यताअनुसार यमदीप दक्षिण फर्काएर दान गर्ने गरिन्छ । यसो गर्दा यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो । यमपञ्चक सुरु भएकै दिन धनतेरस पर्वसमेत मनाइएको थियो । धनतेरसका दिन गरगहना तथा तामाका भाँडाकुँडा किन्दा घरमा लक्ष्मीको स्थिर बास हुने धार्मिक विश्वास रहेको छ ।
तिहारको पहिलो दिन कागको पूजा गरेर सुरु हुने पर्वमा क्रमशः कुकुर, गाई, गोरु र भाइटीका मनाउने परम्परा छ ।

प्रतिक्रिया