२८ लाखभन्दा बढीका अवैध भारतीय फूल बरामद गरी नष्ट


तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट भन्सार छली नेपाल भित्र्याइएका २८ लाख २७ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालले पूर्वी तथा मधेशका सीमावर्ती क्षेत्रबाट सयपत्री, कमल र रजनिगन्धाका फूल बरामद गरेको हो।

झापाको भद्रपुर नगरपालिका–८ स्थित देवीबस्तीबाट सशस्त्र प्रहरीको टोलीले २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ जनाको टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री माला र दुई लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल बरामद गरेको हो।

त्यसैगरी धनुषाको बिओपी देवडिहाबाट खटिएको गस्ती टोलीले ९१ हजार रुपैयाँ बराबरका १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरका ३० केजी रजनिगन्धा बरामद गरेको छ। गस्ती टोलीलाई देखेपछि फूल ल्याउने व्यक्तिहरू मोटरसाइकल छाडेर फरार भएका थिए।

यस्तै, कात्तिक २२ गते बिहान बिओपी फुलगामाको टोलीले सीमा क्षेत्रमा २०० केजी सयपत्री फूल फेला पारेको थियो। उक्त फूलको मूल्य करिब एक लाख ४० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। टोलीलाई देखेपछि फूल बोकेर ल्याउने व्यक्तिहरूले सीमा क्षेत्रमा नै फूल छाडेर फरार भएका थिए।

झापा र धनुषाका विभिन्न स्थानबाट बरामद गरिएका सबै फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि तथा स्थानीय बासिन्दाको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नेपाली किसानले उत्पादन गरेका स्थानीय फूलको प्रवर्द्धन गर्न र अवैध आयात रोक्न सीमा क्षेत्रमा निगरानी कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।