त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो सामान (ब्यागेज) को अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन्।
विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को प्रत्यक्ष दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा राखिएको स्क्रिनमार्फत देखाउने व्यवस्था गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे जानकारी दिनेछ।
यसअघि विमानबाट झारिएको सामान ब्यागेज बेल्टसम्म आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। सामानको प्रतीक्षामा यात्रु अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे जानकारी नहुँदा असहज हुने गरेको थियो।
नयाँ व्यवस्थाअनुसार यात्रुले आगमन कक्षमा राखिएको स्क्रिनबाट ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि प्रत्यक्ष हेर्न सक्नेछन्। यसबाट सामान झार्ने प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी पाउनुका साथै आफ्नो ब्यागेज प्राप्त गर्न लाग्ने समयबारे पनि अनुमान गर्न सहज हुनेछ।
विमानस्थलको सेवा प्रवाहलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। यसले यात्रुको प्रतीक्षा अनुभव सहज बनाउनुका साथै ब्यागेज व्यवस्थापनमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया