सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्न खोज्दैछ : प्रदीप पौडेल


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिकको स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन्।

आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै निरङ्कुश शासन व्यवस्था हाबी हुन लागेको बताएका हुन्।

उनले प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धका प्रमाण मेटाउने र आफूलाई अनुकूल हुने प्रमाण मात्रै सार्वजनिक गर्ने गरेको आरोपसमेत लगाए।

अहिलेको व्यवस्था ल्याउन कुनै योगदान नगरेकाहरूलाई जनताले दुईतिहाइ मत दिएको उल्लेख गर्दै पौडेलले जनमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिए।

कार्यक्रममा उनले नेपाली कांग्रेसको बृहत् एकताका लागि आफूले अधिकतम प्रयास गरिरहेको पनि बताए। विधिको शासन भएको देशमा एउटै पार्टीका दुई सभापति, दुई झन्डा र दुई चुनाव चिह्न हुन नसक्ने उनको भनाइ थियो।

कांग्रेसको अर्को पक्षका गतिविधि विधिको शासनविपरीत रहेको आरोप लगाउँदै उनले पार्टीभित्रको विवाद समाधानका लागि विधि र प्रक्रियाको पालना गर्नुपर्ने धारणा राखे।