सुनकोशी गाउँपालिका कपमा विजेतालाई ३ लाख ३३ हजार पुरस्कार


ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

गाउँपालिकाको आयोजनामा आगामी मंसिर २१ देखि २४ गतेसम्म ‘सुनकोशी गाउँपालिका कप–२०८३’ सञ्चालन हुन लागेको हो। सुनकोशी गाउँपालिका–५, मूलखर्कस्थित खेलमैदानमा हुने प्रतियोगितामा देशभरका स्थानीय तहका टिमले सहभागिता जनाउन सक्नेछन्।

‘संस्कृति, पर्यटन, कृषि र पूर्वाधार: समावेशी सुनकोशी समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताका लागि इच्छुक टिमले मंसिर १८ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईका अनुसार प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार, बीमा शुल्क एक हजार र धरौटी दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतियोगिता ९ ए साइडमा फिफाको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रत्येक टिममा १४ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १६ जना रहनेछन्। प्रत्येक नगरपालिका वा गाउँपालिकाबाट एउटा मात्र टिम सहभागी हुन पाउनेछ भने खेलाडी सम्बन्धित स्थानीय तहकै हुनुपर्नेछ।

प्रतियोगिताको विजेताले तीन लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले एक लाख ७७ हजार ७७७ रुपैयाँ पाउँदा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताले अन्तरपालिका फुटबलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।

यसअघि ‘अध्यक्ष कप’ नामबाट सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्षदेखि ‘सुनकोशी गाउँपालिका कप’ नामबाट आयोजना हुन लागेको हो। प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।