गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा महत्वपूर्ण भूमिका खेलेको नेपाल प्रहरीको कुकुर लियो सर्वोत्कृष्ट बनेको छ।
नेपालभरका प्रहरीका केनाइन (खोज तथा उद्धारमा प्रयोग गरिने कुकुर) लाई पछि पार्दै लियो सर्वोत्कृष्ट घोषित भएको हो।
तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित कार्यक्रममा लियोलाई मेडल प्रदान गरिएको छ। अपराध अनुसन्धान विभागका डीआईजी ओम रानाले लियोलाई मेडल प्रदान गरेका हुन्।
गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि लियो करिब एक महिनासम्म खोज तथा उद्धारमा खटिएको थियो। सो क्रममा उसले केही व्यक्तिको शव तथा शरीरका अंगहरू फेला पार्न सहयोग गरेको थियो।
ल्याब्राडोर जातको लियोले २०७८ सालदेखि नेपाल प्रहरीलाई खोज तथा उद्धार कार्यमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया