ममता काफ्ले हत्या प्रकरण : शव टुक्र्याएर फोहोरमा फालेको नरेश भट्टद्वारा स्वीकार


अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको दाबी गरेका छन्।

अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेको, शरीरका विभिन्न भाग छुट्याएको र फोहोरमा फालेको विषय स्वीकार गरेका हुन्। यद्यपि उनले ममताको हत्या आफूले नगरेको जिकिर गरेका छन्।

सन् २०२४ को जुलाईमा ममता बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन। नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ।

बिहीबार अदालतमा बयान दिँदै भट्टले आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे। ममताका परिवारका सदस्य तथा साथीहरूले भने उनीमाथि घरेलु हिंसा हुने गरेको बताउँदै आएका छन्। भट्टले ती आरोप अस्वीकार गरेका छन्।

उनले आफू वैवाहिक सम्बन्धबाट सन्तुष्ट नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको पनि बताए। सम्बन्धविच्छेदको कुरा गर्दा ममता तनावमा पर्ने गरेको उनको भनाइ थियो।

आत्महत्या गरेको दाबी, प्रहरीलाई खबर नगरेको स्वीकार

भट्टका अनुसार जुलाई २९, २०२४ को राति उनी सुत्न गएका थिए भने ममता भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन्। भोलिपल्ट बिहान छोरीको हेरचाह गर्न उठेका उनले पछि मास्टर बाथरुम जाने क्रममा असामान्य गन्ध महसुस गरेका थिए।

त्यसपछि पत्नीलाई खोज्दा बेडरुमको खाटनजिक भुइँमा अचेत अवस्थामा फेला पारेको उनले बताए। ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा नजिकै औषधि र सेल्फोस नामक कृषि विषादी रहेको उनको दाबी थियो।

ममतालाई अचेत अवस्थामा भेटेपछि सीपीआर दिने प्रयास गरेको तर तत्काल प्रहरी वा आपत्कालीन सेवामा खबर नगरेको उनले स्वीकार गरे। पत्नीको मृत्युमा आफूलाई दोषी ठहर गरिने डरले प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो।

शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार

भट्टले ममताको शव घरको फोहोर राख्ने डस्टबिनमा अटाउन खोजेको र त्यसका लागि शरीरका विभिन्न भाग छुट्याउने प्रयास गरेको बताए। उनले शवका खुट्टा अलग गर्ने प्रयास गरेको तर मानसिक तथा शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको बयान दिएका छन्।

अदालतमा प्रस्तुत गरिएको ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरासमेत आफूले प्रयोग गरेको उनले स्वीकार गरेका छन्।

उनका अनुसार घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर गाडीमा राखी फल्स चर्चमा फालेका थिए। त्यसपछि ममताको शवलाई भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेका थिए। शवका अवशेष राख्न तीनवटा झोला प्रयोग गरेको उनको अनुमान छ।

अभियोजन पक्षका वकिलले शव फेला नपरोस् भनेर टुक्र्याएर फोहोरमा राखेको हो भन्दै प्रश्न गर्दा उनले स्वीकार गरेका थिए।

भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्दै होम डिपो र वालमार्ट गएको पनि बताए। होम डिपोबाट पञ्जा किनेको स्वीकार गरेका उनले पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बताएका थिए।

त्यस्तै, ममताको मोबाइल फोन पछि नालीमा फालेको पनि उनले अदालतमा बताएका छन्।

गुगल सर्च हिस्ट्रीबारे पनि प्रश्न

अदालतमा भट्टको गुगल सर्च हिस्ट्रीबारे समेत प्रश्न उठाइएको थियो। उनले अगस्ट ५ मा भर्जिनियामा बेपत्ता व्यक्तिहरू फेला पर्ने सम्भावनाबारे खोजी गरेको हुन सक्ने स्वीकार गरे।

त्यस्तै, अगस्ट १७ मा ‘के म आफ्नो बच्चा साथीलाई दिन सक्छु ?’ भन्ने विषयमा खोजी गरेकोबारे उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोजिरहेको जवाफ दिए।

अभियोजन पक्षले ‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्रीबारे गरिएको खोजीका विषयमा पनि प्रश्न गरेको थियो। भट्टले केही खोजी गरेको सम्झना भए पनि त्यसको कारण सबै याद नभएको बताए। अनुसन्धान अवधिमा आफूले कम्तीमा १४ हजार पटक गुगल सर्च गरेको उनको अनुमान थियो।

घरेलु हिंसासम्बन्धी पुरानो तस्बिर अदालतमा

अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिर पनि अदालतमा प्रस्तुत गरेको थियो। उक्त तस्बिरमा ममताको दाहिने आँखामुनि नीलडाम तथा हात र नाकमा रगत देखिएको थियो।

ममताले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ लेखेकी थिइन्। त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए।

तर भट्टले उक्त घटनामा आफू जिम्मेवार नभएको र ममतामाथि कहिल्यै हात नउठाएको दाबी गरे।

अभियोजन पक्षको कडा जिरह

बिहीबार दिउँसो प्रतिरक्षा पक्षको प्रश्नोत्तर सकिएपछि अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टमाथि जिरह गरेका थिए।

जिरहका क्रममा स्वीटले भट्टले प्रहरीलाई ममता कहाँ छिन् भन्ने थाहा नभएको भन्दै लामो समयसम्म झुट बोलेको आरोप लगाए।

उनले ममताप्रतिको प्रेमबारे प्रश्न गर्दै भट्टले पत्नीको शव टुक्र्याएर फोहोरमा फालेको विषय उठाएका थिए। भट्टले आफूले गरेका काम स्वीकार गरेको जवाफ दिएका थिए।

अभियोजन पक्षले नगदमा सामान किनेको, मोबाइल फोन बन्द गरेको र घटनासँग सम्बन्धित प्रमाण हटाएको विषयमा पनि प्रश्न गरेको थियो।

त्यस्तै, भट्टले अमेरिकी नागरिकता आवेदनमा आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेको तर अदालतमा बयान दिँदा भारतको नयाँदिल्लीमा जन्मिएको बताएको विषयसमेत उठाइएको थियो। यसबारे अभियोजन पक्षले प्रश्न गर्दा भट्टले आफूले झुट नबोलेको जवाफ दिएका थिए।

बिहीबार साँझ करिब ५ बजे अभियोजन पक्षको जिरह सकिएको थियो। त्यसपछि न्यायाधीशले जुरी सदस्यहरूलाई बिदा गरेकी थिइन्।

प्रतिरक्षा पक्षले सोमबार पुनः केही प्रश्न गर्ने र त्यसपछि आफ्नो पक्षका बहस तथा प्रमाण प्रस्तुत गर्ने काम पूरा गर्ने जनाएको छ।