मिलरको अविजित ९३ रनका बाबजुद कर्णाली सुदूरपश्चिमसँग पराजित


दक्षिण अफ्रिकी आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै उत्कृष्ट ब्याटिङ गरे पनि कर्णाली याक्सले हार टार्न सकेन । शुक्रबार भएको खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि मिलरले अविजित ९३ रन बनाए पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

मिलरले ५५ बलमा ५ चौका र ७ छक्काको मद्दतमा ९३ रन बनाएका थिए । विकेटकिपर दीपक डुम्रेले १२ बलमा ३ चौका र १ छक्कासहित १८ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले समान १ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे ।

पहिलो विकेटका लागि जैब र भण्डारीले ६८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका थिए । तर, आठौं ओभरमा भण्डारी र नवौं ओभरमा जैब आउट भएपछि टोलीले नियमित अन्तरमा विकेट गुमायो ।

ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्काको मद्दतमा २३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले १० र आरिफ शेखले ११ रन बनाए ।

अन्तिमतिर थरिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र १ छक्कासहित अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बलमा २ चौकासहित अविजित १३ रन जोडे । सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन थपेको थियो ।

कर्णालीका लागि मार्क वाटले २ विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान १ विकेट हात पारे ।

यस जितसँगै पाँच खेलमा तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो । ४ अंक रहेको कर्णाली पाँचौं स्थानमा झरेको छ ।