चितवनसँग ३० रनले हार्‍यो पोखरा, लगातार चौथो हार


चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै दोस्रो जित निकालेको छ । बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवनले शुक्रबार पोखरालाई हराउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा समेटियो ।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । युवराज सम्राले १९ रन बनाउँदा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराले सुरुवातदेखि नै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको तेस्रो बलमै ४ रन बनाएर आउट भए । त्यसपछि युवराज सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । सम्रा १९ रनमा आउट भएपछि पोखराले नियमित अन्तरमा विकेट गुमाउन थाल्यो ।

अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हाले पनि उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । सदिरा समराविक्रमा ४, महेदी हसन ७ र नयाँ कप्तान चमिका करुणारत्ने २ रनमा आउट भए ।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट हात पारे । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । उनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मलानले २८ रनको योगदान दिए ।

ओपनर अर्जुन साउद र डाविड मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । अर्जुनले २७ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए भने मलानले २८ बलमा ३ चौकासहित २८ रन जोडे ।

त्यसपछि रवि बोपाराले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि डान मोस्ले २ र यस सिजनको पहिलो खेल खेलिरहेका कुशल मल्ल ११ रनमा आउट भए । ८६ रनमा ४ विकेट गुमाएको अवस्थामा बोपारा र कप्तान राजाले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे ।

बोपाराले २८ बलमा ३ चौका र १ छक्कासहित ३५ रन बनाए । अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले बोपारा र राजालाई आउट गरेपछि चितवनले १५१ रन बनाएको थियो ।

पोखराका लागि कप्तान चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान २ विकेट लिए ।

यस जितसँगै चार खेलमा दोस्रो जित निकालेको चितवन ५ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखराको भने यो लगातार चौथो हार हो । चार खेलबाट अंक जोड्न नसकेको पोखरा अंकतालिकाको पुछारमा छ ।

पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकन खेलाडी चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।