भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा बजेट अभाव हुन दिइँदैन : अर्थमन्त्री वाग्ले


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय विशेष समितिको बैठकमा उनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए ।

मन्त्री वाग्लेका अनुसार भोटेकोशी बाढीबाट तत्काल २.७ देखि २.८ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । पुनर्निर्माणका लागि भने करिब ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबरको क्षति हुनु ठूलो सङ्कट भएको उल्लेख गर्दै उनले तत्कालका लागि सरकारकै बजेटबाट राहत र पुनरुत्थानका काम भइरहेको बताए ।

चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सीमा बढाउन कठिन भए पनि अहिलेको विनियोजनबाट ठेक्का प्रक्रिया अघि बढाएर आगामी आर्थिक वर्षको बजेटमा पुनर्निर्माणका लागि थप रकम समावेश गर्ने विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

उनका अनुसार प्रभावित तथा सङ्कटग्रस्त घोषणा गरिएका स्थानीय तहमा रकम पठाइसकिएको छ । खर्च विवरणसहित थप बजेट माग भए प्रधानमन्त्रीतर्फको कोषबाट तत्काल रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले प्रभावित नागरिकको आवश्यकता र भावनालाई ध्यानमा राखेर पुनर्निर्माणका काम अघि बढाउन सुझाव दिएका थिए ।