बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र लेदो खस्दा प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ।
प्रहरीका अनुसार शनिबार बिहान काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गा र माटोसहितको लेदो आएपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, ललितपुरको बल्खु र सुन्दरीघाटस्थित बागमती खोला करिडोर तथा कान्तिलोकपथ पनि अवरुद्ध भएका छन्। निरन्तरको वर्षाले पानीको बहाव बढेपछि सडकमा आवागमन रोकिएको प्रहरीले जनाएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको करिब १५ मिटर सडक अवरुद्ध भएको छ। त्यस्तै, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा पानीको बहावले करिब २० मिटर सडक बगाउँदा जोमसोम–कोरोला सडक खण्ड बन्द भएको छ।
यसैगरी, मकवानपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित पेट्रोल पम्पनजिक पहिरो खस्दा यातायात सेवा ठप्प बनेको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा लेदोसहितको पहिरो खसेर सडक बन्द भएको छ भने नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ तरङ्ग भीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नुवाकोटको विदुर नगरपालिका–१० सातबिसेमा पहिरो खस्दा पासाङ ल्हामु सडक खण्ड पनि बन्द भएको छ।
यसैबीच, हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा सुरक्षालाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन रोकिएको छ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नैपर्ने भए सम्बन्धित सडकको अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ। अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया