राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र र सरकारसँगको संवादलाई तीव्रता दिएका छन्।
भारतको धार्मिक भ्रमण सकेर फर्किएका लामिछानेले बुधबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहसँग करिब चार घण्टा छलफल गरेका थिए। लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए।
बुधबार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा न्यायालयमा विकसित घटनाक्रम, संसद्मा दर्ता भएको निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने तयारीलगायत समसामयिक विषयमा कुराकानी भएको रास्वपाका नेताहरूले बताएका छन्।
प्रधानमन्त्रीसँगको भेटपछि लामिछानेले सोही दिन पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि करिब दुई घण्टा छलफल गरे। त्यसैगरी, बिहीबार उपसभापति एवं कानुनमन्त्री सोबिता गौतमसँग साढे तीन घण्टा संवाद भएको थियो। उक्त छलफलमा सरकारले ल्याउन लागेको अध्यादेशको कानुनी पक्ष र त्यसले पार्न सक्ने प्रभावबारे कुराकानी भएको बताइएको छ।
लामिछानेले बिहीबार नै सभामुख डोलप्रसाद अर्यालसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरेका थिए। सभामुखको सचिवालयका अनुसार उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको थियो।
यसैबीच, न्यायालयमा विकसित पछिल्लो विवादबारे लामिछानेले शुक्रबार कानुनी पृष्ठभूमिका पार्टी सांसदहरूसँग छलफल गरेका थिए। रास्वपा सांसद मोहनलाल आचार्यका अनुसार आधा दर्जनभन्दा बढी सांसदसँग न्यायालयको विषयमा पार्टीले अपनाउनुपर्ने कदमबारे राय लिइएको थियो।
छलफलमा न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तताको विषय उठाउँदै विवादलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सुझाव दिइएको थियो। केही सांसदले विवादमा परेका न्यायाधीशमाथि महाभियोगको प्रक्रिया अघि बढाउनसमेत सुझाव दिएका छन्। सांसद राजीव खत्री, यज्ञमणि न्यौपाने र मधु चौलागाईंलगायत महाभियोगको पक्षमा देखिएका छन्।
यही छलफल र सांसदहरूको सुझावपछि लामिछानेले शनिबार पार्टी सचिवालयको बैठक बोलाएका हुन्। बनस्थलीस्थित पार्टी कार्यालयमा जारी बैठकमा न्यायालयको विवाद र त्यसबारे पार्टीले चाल्नुपर्ने कदमलगायत विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया