कुलेखानीको सतह बढ्यो, तटीय क्षेत्रमा जोखिम


लगातारको वर्षाले कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। यसको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह बढिरहेको छ। केही घण्टामै पानीको सतह एक हजार ५२८ मिटर नाघ्न सक्ने भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त एसएमएसमा दिइएका निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आए साइरन बजाएर पूर्वसूचना दिइने जलविद्युत् केन्द्रले जनाएको छ। साथै, देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा पनि सावधानी अपनाउन आग्रह गरिएको छ।