सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले ढाका सिलाई–बुनाई तालिम सञ्चालनका क्रममा प्रशिक्षकसँग घुस मागेको र उक्त रकम छोराको बैंक खाताको क्यूआर कोडमार्फत लिएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई–बुनाई तालिममा प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्।
उक्त रकम उनका छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमा जम्मा गर्न लगाएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र (२) बमोजिम ४५ हजार रुपैयाँ बिगो, थप जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।
मुद्दा दायर भएसँगै उपाध्यक्ष राई निलम्बनमा परेकी छन्। उनी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया