एनपीएलमा आज दुई खेल, चितवनका समर्थकलाई निःशुल्क यात्रा


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

पहिलो खेल दिउँसो साढे १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा चितवन राइनोज अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि अङ्क बाँडिएको थियो। यता सुदूरपश्चिमले तीन खेल खेल्दा एकमा जित र दुईमा हार बेहोरेको छ।

यसैबीच, आज साँझ हुने खेल हेर्न चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ ल्याउने व्यवस्था गरेको छ। क्लबले खेलको टिकट लिएका चितवनका समर्थकका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार टिकट लिएका समर्थकलाई चितवनबाट काठमाडौँ ल्याउने र खेल सकिएपछि पुनः चितवन पुर्‍याउने व्यवस्था गरिएको छ।

उनले प्रि-टिकट लिएका समर्थकमध्ये ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा बस सेवा उपलब्ध गराइएको जानकारी दिए।