तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन्।
गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशतले बढे पनि परिमाण भने करिब २७ प्रतिशतले घटेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ।
उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्। विशेषगरी चीनबाट आयात हुने सामग्रीको मूल्य स्रोत बजारमै बढेकाले नेपाली बजारमा त्यसको प्रभाव परेको हो।
झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थ महँगिएका छन्। त्यस्तै, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले पनि आयात लागत बढाएको पौडेलले बताए।
ढुवानी खर्चमा भएको वृद्धिले समेत सामग्रीको मूल्य बढाएको छ। पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलरसम्म रहेकामा अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन मुस्किल छ।
त्यस्तै, चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामग्री आयात गर्न नसक्दा पनि लागत बढेको व्यवसायीको भनाइ छ। केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायत अन्य नाकाबाट घुमाएर ल्याउनुपर्ने अवस्था छ।
पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति कमजोर बनेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यवसायीसँग पर्याप्त मौज्दातसमेत छैन। मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न नसकेको उनले बताए।
कच्चा पदार्थको मूल्य, डलरको विनिमय दर र ढुवानी खर्चमा भएको वृद्धिसँगै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्ती गत वर्षभन्दा महँगो पर्ने व्यवसायीको भनाइ छ।

प्रतिक्रिया