नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले व्यक्तिगत आयकरसम्बन्धी नयाँ व्यवस्था आजदेखि लागू गरेको छ।
आर्थिक ऐन २०८३ अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्नेछ । अर्थ मन्त्रालयका अनुसार करदातामाथिको करको बोझ कम गर्ने उद्देश्यले व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पुर्याइएको हो ।
साथै, व्यक्तिगत आयकरको अधिकतम दरसमेत १० प्रतिशत बिन्दुले घटाइएको छ।नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको करयोग्य आयमा पहिलो १० लाखमा १ प्रतिशत (१० हजार रुपैयाँ) र बाँकी आयमा १० प्रतिशत कर लाग्नेछ। १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आयमा १५ लाखसम्म ६० हजार रुपैयाँ तथा बाँकी आयमा २० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २५ लाखसम्म २ लाख ६० हजार रुपैयाँ र सोभन्दा माथिको आयमा २७ प्रतिशत कर लाग्नेछ । ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए थप आयमा अतिरिक्त २ प्रतिशत कर पनि लाग्नेछ।अर्थ मन्त्रालयले निवृत्तिभरण कोष तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने केही प्राकृतिक व्यक्तिका हकमा भने विशेष छुटको व्यवस्था गरिएको जनाएको छ।
यसअघि आयकर ऐन, २०५८ अनुसार एकल व्यक्तिको पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीको पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर मात्र लाग्ने व्यवस्था थियो।

प्रतिक्रिया