पितृ पक्ष सुरु

आजदेखि सोह्र श्राद्ध आरम्भ, यसवर्ष सोह्र श्राद्ध र बडादसैँ किन पछि सर्यो ?


काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ।

सोह्र श्राद्धको आरम्भका दिन आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ। प्रतिपदा तिथिको श्राद्धमा पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानपूर्वक तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यस अवधिलाई अपर पक्ष, प्रेत पक्ष आदि नामले पनि चिनिन्छ।

चाडपर्व, यज्ञ–यज्ञादि तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धा र भक्तिपूर्वक सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो। यस अवधिमा पितृले आफ्ना सन्तानबाट श्राद्ध तथा तर्पणको अपेक्षा गरेर बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनुका साथै पितृऋणबाट समेत मुक्त भइने धार्मिक विश्वास छ। यस अवधिमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने शास्त्रीय वचन रहेकाले श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेको पनि उनले बताए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध छोड्न नहुने उनको भनाइ छ।

कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा शास्त्रमा विभिन्न विकल्पसमेत दिइएका छन्। सोह्र श्राद्ध आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणले तोकिएको समयमा गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने व्यवस्था छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म उपयुक्त दिन पारेर गर्न सकिने ‘धर्मसिन्धु’ नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत ‘निर्णयसिन्धु’, ‘धर्मसिन्धु’लगायत धर्मशास्त्रीय ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा. डा. भट्टराईले जानकारी दिए।

त्यसपछि पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले बताए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्ने उल्लेख छ। यस विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ।

सोह्र श्राद्ध अपराह्नकालमा आफ्ना पिताको तिथिका दिन गर्नुपर्ने भए पनि कतिपय पुरोहितले आफूअनुकूल बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको जानकारी आएकाले त्यस्तो अभ्यास शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्हरू बताउँछन्।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृतृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व तथा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रहेको छ।

यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँ पर्व केही पछि सरेको हो।