सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) को ३३ औँ वार्षिक साधारण सभाले लामा काजि शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
सगरमाथा क्षेत्रको वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा लामो समयदेखि सक्रिय SPCC को नयाँ नेतृत्वमा उपाध्यक्षमा डोल्मा छिरीङ शेर्पा, महासचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा ङिमा नुरू शेर्पा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा आङ माया शेर्पा, ङिमा याङजी शेर्पा, पासाङ नुरू शेर्पा, पेमा ओङगेल शेर्पा, पेमा छोसाङ शेर्पा, छेतेन डोमा शेर्पा र छिरिङ किन्जु शेर्पा सर्वसम्मत निर्वाचित भएका छन्।
सन् १९९१ मा स्थापना भएको SPCC खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन तथा हिमाली वातावरण संरक्षणमा काम गर्ने प्रमुख स्थानीय संस्थामध्ये एक हो। संस्थाले बस्ती, पदमार्ग तथा पर्वतारोहण क्षेत्रबाट निस्कने फोहोरको संकलन, वर्गीकरण, पुनःप्रयोग तथा व्यवस्थापनसँगै वातावरणीय जनचेतना अभिवृद्धिमा काम गर्दै आएको छ।
SPCC ले सगरमाथासहित खुम्बु क्षेत्रका हिमालमा पर्वतारोहण टोलीबाट उत्पन्न फोहोर व्यवस्थापनका लागि Garbage Declaration and Clearance System समेत सञ्चालन गर्दै आएको छ। आरोहण अभियानपछि सम्बन्धित टोलीले आफ्नो फोहोर SPCC लाई बुझाएपछि मात्रै फोहोर व्यवस्थापनसम्बन्धी क्लियरेन्स प्रक्रिया पूरा हुने व्यवस्था छ। आधार शिविरहरूमा मानव मलमूत्र व्यवस्थापनमा समेत संस्थाले काम गर्दै आएको छ।
स्थानीय बस्ती र पदमार्गको फोहोर व्यवस्थापनमा पनि SPCC ले घरदैलो संकलन, फोहोर वर्गीकरण, पुनःप्रयोग तथा सामुदायिक सहभागितामार्फत काम गरिरहेको जनाएको छ। संस्थाका अनुसार नाम्चे र लुक्लालगायत प्रमुख बस्तीमा १८० भन्दा बढी व्यवसायलाई फोहोर संकलन सेवाले समेटेको छ भने विभिन्न समुदायसँग सहकार्य गरी फोहोर व्यवस्थापन समूहहरू सञ्चालनमा छन्।
पछिल्लो समय SPCC ले फोहोर व्यवस्थापनसँगै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र हिमाली समुदायको उत्थानशीलतालाई समेत आफ्नो कार्यक्षेत्रमा जोड्दै आएको छ। सन् २०२४ मा थामेमा आएको विनाशकारी हिमताल विस्फोटजन्य बाढी (GLOF) पछि संस्थाले ‘Project RISE’ मार्फत अनुसन्धान, प्रारम्भिक चेतावनी प्रणाली र समुदायमा आधारित विपद् तयारीलाई अघि बढाइरहेको छ।
त्यस्तै ‘Carry Me Back’ कार्यक्रममार्फत माथिल्लो खुम्बुबाट संकलित पुनःप्रयोग गर्न मिल्ने फोहोरलाई स्वयंसेवक, पदयात्री तथा स्थानीयको सहयोगमा लुक्लासम्म ल्याएर उचित पुनःप्रशोधनका लागि काठमाडौं पठाउने व्यवस्था गरिएको छ। SPCC का अनुसार सन् २०२४ सम्म यस अभियानमा १९ हजारभन्दा बढी स्वयंसेवक सहभागी भएका थिए र २७ हजारभन्दा बढी बोरा पुनःप्रयोगयोग्य फोहोर माथिल्लो खुम्बुबाट लुक्लासम्म ल्याइएको थियो।
नयाँ कार्यसमितिको चयनसँगै सगरमाथा क्षेत्रको बढ्दो पर्यटन, फोहोर व्यवस्थापन, हिमाली वातावरण संरक्षण तथा जलवायुजन्य जोखिमका विषयमा SPCC को आगामी भूमिका थप महत्वपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया