मन्त्रिपरिषद्को निर्णय : तीन जिल्लाका प्रभावित क्षेत्र संकटग्रस्त


सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

त्यस्तै, गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

सरकारका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रलाई लक्षित गरी उक्त निर्णय गरिएको हो।

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउन सहज हुने सरकारले जनाएको छ। सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार यस निर्णयले प्रक्रियागत जटिलता हटाई प्रभावित क्षेत्रमा आवश्यक काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ।