‘बायुङ राई’ गीतको सार्वजनिक


किरात बायुङ राई सुम्निखिमले बायुङ राई समुदायको मातृभाषा, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारेको ‘बायुङ राई’ गीत सार्वजनिक भएको छ।

सुम्निखिमका अनुसार बायुङ राई समुदायको दर्शन, संस्कार, संस्कृति तथा सामाजिक जनजीवनका विविध पक्षलाई समेटेर तयार पारिएको गीत शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

किरात बायुङ राई समुदायको मातृभाषामा तयार पारिएको यस गीतले समुदायको मौलिकता, सांस्कृतिक परम्परा र पहिचानलाई नयाँ पुस्तामाझ परिचित गराउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । गीतमार्फत बायुङ राई समुदायको भाषा, संस्कृति र जीवनशैलीलाई सांगीतिक माध्यमबाट उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

गीतको शब्द, संगीत तथा संयोजन किशोर बायुङ राईले गरेका छन् भने संगीत संयोजनमा योगेन मुकुरुङको भूमिका रहेको छ। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ योगेन मुकुरुङ र पारस राईले गरेका छन्। गीतमा किशोर बायुङ राईसहित विभिन्न कलाकारको स्वर रहेको छ।

किरात बायुङ राई सुम्निखिम, काठमाडौंको आयोजनामा भएको सार्वजनिक कार्यक्रममा सम्पूर्ण भाषाप्रेमी, संस्कृतिकर्मी, कलाकार लगायतको उपस्थिति रहेको थियो ।

‘बायुङ राई’ गीतले समुदायको मातृभाषा र सांस्कृतिक सम्पदाको संरक्षणसँगै मौलिक पहिचानलाई व्यापक रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।