२९ भावी माउन्टेन गाइड ६ हजार माथिकाे पिकमा (फोटो सहित)


प्रोफेसनल माउन्टेन गाइड तालिमअन्तर्गत दोस्रो समर स्किल कोर्समा सहभागी २९ प्रशिक्षार्थीले ६ हजार ३५५ मिटर अग्लो ‘डाँगा पिक’ सफलतापूर्वक आरोहण गरेका छन् ।

नेपाल पर्वतारोहण संघ (NMA) र सस्टेनेबल टुरिजम प्रोजेक्ट (STP) को संयुक्त आयोजनामा सञ्चालित तालिमका क्रममा प्रशिक्षार्थीहरूले हिमाली क्षेत्रमा आवश्यक व्यावहारिक तथा प्राविधिक प्रशिक्षण पूरा गर्दै पिककाे सफल आरोहण गरेका हुन् ।

तालिममा ६ जना प्रशिक्षकसहित २९ जना प्रशिक्षार्थी सहभागी थिए । तालिमका सैद्धान्तिक, रक क्लाइम्बिङ तथा अन्य तयारीसम्बन्धी कक्षा काठमाडौंमा सञ्चालन गरिएको थियो भने व्यवहारिक प्रशिक्षण ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा रहेको डाँगा पिकमा सञ्चालन गरिएको थियो ।

तालिम टोलीले प्रशिक्षणसँगै शिखर आरोहणसमेत सफलतापूर्वक सम्पन्न गरेको NMA ले जनाएको छ । तालिम तथा आरोहण कार्यक्रम सम्पन्न भएपछि एनएमएको टोली काठमाडौं फर्किने क्रममा रहेको छ ।

समर स्किल कोर्स CTEVT बाट स्वीकृत १ हजार ६९६ घण्टे प्रोफेसनल माउन्टेन गाइड पाठ्यक्रमको एक महत्वपूर्ण हिस्सा हो ।

६ हजार मिटरभन्दा अग्लो हिमालमा सञ्चालन गरिने यस कोर्सको उद्देश्य भावी प्रोफेसनल माउन्टेन गाइडलाई वास्तविक हिमाली वातावरणमा प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । उच्च उचाइमा पर्वतारोहण तथा गाइडिङका क्रममा आउने व्यावहारिक चुनौतीबारे प्रशिक्षार्थीलाई प्रत्यक्ष ज्ञान दिलाउनु पनि तालिमको उद्देश्य रहेको छ ।

कोर्सकै अभिन्न अंगका रूपमा आयोजना गरिने शिखर आरोहणमार्फत प्रशिक्षार्थीले तालिमका क्रममा सिकेका प्राविधिक सीप तथा दक्षतालाई वास्तविक हिमाली वातावरणमा प्रयोग गर्ने अवसर पाउने एनएमएले जनाएको छ ।

डाँगा पिकको सफल आरोहणसँगै तालिम पूरा गरेका सबै प्रशिक्षार्थी तथा प्रशिक्षक एव‌‌म् सम्पूर्ण प्रशिक्षण टोलीप्रति एनएमएले धन्यवाद व्यक्त गरेको छ ।