ओखलढुंगा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाको खसी सहयोग


नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले बडादशैंको अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीका लागि खसी सहयोग गरेका छन् ।

खतिवडाले आफू ओखलढुंगाबाट सांसद निर्वाचित भएदेखि हरेक वर्ष दशैंमा कारागारका कैदीबन्दीलाई मासुका लागि जिउँदो खसी उपलब्ध गराउँदै आएका छन् ।

अघिल्ला वर्षहरूमा आफैं कारागार पुगेर खसी हस्तान्तरण गर्ने र कैदीबन्दीका समस्या सुन्ने गरेका खतिवडाले यस वर्ष भने प्रतिनिधिमार्फत खसी पठाएका हुन् । पार्टीमा नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै सभापतिको शपथग्रहणलगायतका कार्यक्रममा व्यस्त भएकाले उनी स्वयं उपस्थित हुन नसकेका हुन् ।

कांग्रेस प्रवक्ता प्रदीप वानियाँ, जिल्ला सदस्य योगेश्वर अधिकारी, हेमराज राई, प्रकाश दाहाल, मानेभञ्ज्याङ गाउँपालिका सभापति हुकुम राई र मानेभञ्ज्याङ–६ का वडा सभापति गन्जुराम राईलगायत नेताहरूले कारागार पुगेर खसी हस्तान्तरण गरेका थिए ।

खतिवडाले कैदीबन्दीलाई मानवीय सहयोगस्वरूप हरेक वर्ष चाडपर्वका बेला यस्तो सहयोग गर्दै आएको बताए । कारागारको जीवन कष्टकर हुने भए पनि चाडपर्वमा रमाउने चाहना सबैमा हुने उनको भनाइ छ ।

‘अपराधमा संलग्न भएर कारागार पुगे पनि सजाय भुक्तान गरेपछि कैदीबन्दी फेरि समाजमा फर्किएर असल नागरिकका रूपमा घुलमिल गर्नुहुन्छ । कारागारलाई कारबाही भोग्ने थलो मात्रै होइन, सुधार केन्द्रका रूपमा पनि विकास गर्नुपर्छ,’ खतिवडाले भने ।

कैदीबन्दीलाई दशैंमा खसी सहयोग गरेको विषयमा हुने टिप्पणीबारे उनले मानवीय भावनाले चाडपर्वमा सानो सहयोग गरेको स्पष्ट पारे ।