बालेन सरकारमा को–को बन्दैछन् मन्त्री ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुले मंगलबार र बुधबार अभिमुखीकरण तालिम लिए । बिहीबार समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र पनि वितरण गरेको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार निर्वाचन आयोगले अन्तिम नतिजा परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेसँगै सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ । 

अब रास्वपाले संसदीय दलको नेता चयन गरेपछि बालेनलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।  बिहीबार बेलुका काठमाडौंको एक होटलमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालबीच छलफल भएको थियो ।

छलफलपछि १३ गते राष्ट्रपतिबाट शपथको समय मिलाउने विषयमा छलफल भएको स्रोतले जानकारी दियो । बालेनसँगै सरकारमा को–को सहभागी हुने भन्ने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।

गृहमन्त्रीमा डीपी अर्याल र सुनील लम्सालमध्ये एक, अर्थमा स्वर्णिम वाग्ले, स्वास्थ्यमा डा. लेखजंग थापा र तोसिमा कार्कीमध्ये एक बनाउने विषयमा छलफल भएको स्रोत बताउँछ ।

त्यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खनाललाई अघि सार्ने विषयमा छलफल भएको छ । शिक्षामन्त्रीमा सस्मित पोखरेल, महावीर पुनलगायतको नाम चर्चामा छ । तर सबैजसो नाममा छलफल भइरहेको हुँदा कसैको पनि टुंगो नलागेको रास्वपाको उच्च स्रोत बताउँछ ।

त्यस्तै सभामुखमा मनिष झा र सोविता गौतमको विषयमा छलफल भए पनि टुंगो भने लागेको छैन । नेपालको संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दललाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरी सरकार गठन प्रक्रिया अघि बढ्छ ।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा एक्लैले दुई तिहाइ बहुमत पाएको थियो । प्रतिनिधिसभाका कुल २७५ मध्ये १८२ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको रास्वपा एक्लैले पाएको थियो ।  

त्यसपछि सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच नयाँ सरकार गठनका विषयमा यसअघि पनि छलफल भएको थियो ।

तर बिहीबार बेलुका भने दुईजना उपसभापतिलाई पनि राखेर छलफल भएको छ । मन्त्रिपरिषद्बारे बालेनले विभिन्न क्षेत्रका विज्ञ टोलीसँग निरन्तर संवाद र छलफल गरिरहेका छन् ।  सरकार गठनको तीव्र तयारीमा जुटेका बालेन रास्वपा सांसदहरुको दुईदिने अभिमुखीकरण तालिममा पनि सहभागी भएका थिएनन् । 

गत माघ ४ गतेको दुई पक्षीय सहमति अनुसार, बालेनलाई रास्वपाले चुनावपछिको संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उमेदवारको रुपमा अघि सारेको थियो । 

संसदीय दलको नेता चयनका लागि अmझै केही दिन बाँकी रहेको रास्वपाका नेताहरुले बताएका छन् । रास्वपा नेता गणेश पराजुलीका अनुसार, सांसदहरुको शपथपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुनेछ । 

यसका लागि पार्टीको विधान संसोधनले नरोक्ने र विधान संसोधन नगरी संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाउने उनले बताए । 

“वरिष्ठ नेतालाई प्रधानमन्त्री बनाउनका लागि विधानले रोक्दैन । संसोधनको कुरै भएन । सुरुमा नवनिर्वाचित सांसदहरुको शपथ हुन्छ । त्यसपछि संसदीय दलको नेता चयन गरेर वरिष्ठ नेता प्रधानमन्त्री बन्नुहुन्छ ।

नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय भएको छ । त्यसको भोलिपल्टमात्रै प्रधानमन्त्रीको शपथको तयारी छ ।