सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले आफ्ना उम्मेद्वार टुंगो लगाएका छन्। प्रमुख दलसहित विभिन्न राजनीतिक शक्तिहरू चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।
नेकपा एमालेले कल्पना राईलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाएको छ भने नेपाली काँग्रेसले प्रकाश सिं कार्कीलाई टिकट दिएको छ। काँग्रेसले लामो समयसम्मको आन्तरिक कसरतपछि ढिला गरी आज साँझ कार्कीलाई उम्मेद्वारको रूपमा चयन गरेको हो।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट असिम राई उम्मेद्वार बनेका छन्। राप्रपाको तर्फबाट राजेन्द्र बस्नेत र श्रम संस्कृति पार्टीबाट वियस राईको उम्मेद्वारी रहने पक्का भएको छ।
यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सोलुखुम्बु जिल्लामा अहिलेसम्म प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारको टुंगो लगाउन सकेको छैन।
उम्मेद्वारहरू सार्वजनिक भएसँगै सोलुखुम्बुमा चुनावी माहोल तातेको छ भने आगामी दिनमा चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया