सरकारले आउँदाे माघ ४ गते राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
माघ ४ गते आइतवार बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रियसभाको बैठक बस्ने गरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन पनि स्वीकृत दिएको छ । सन् २०२४ को वार्षिक योगदान २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।
नेपालले भूकम्पबाट पीडित म्यानमारको पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनिफैया बौद्ध पगौडाको अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयाे ।
सरकारले वित्तीय क्षेत्र विकास रणनिति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया