सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।
सोमबार करिब १२ः०० बजेको समयमा वाकुचोकबाट माप्य दुधकोशी गाउँपालिका–७ वरोदी रोचम तर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याब बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा परी बोलेरोमा सवार सबै ९ जना घाइते भएका वाकु प्रहरी चौकीले जनाएको छ । प्रहरीले जनाए अनुसार घाइतेमध्ये उपचारका लागि गम्भीर घाइते ३ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ, अन्य ४ जनालाई जिल्ला अस्पताल फाप्लु पठाइएको छ । दुईजनाको भने स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् घर पठाइएको छ।
घाइते हुनेहरूमा चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु बस्ने २८ वर्षीय प्रदिप राई, सोही ठाउँ बस्ने २८ वर्षीया कुशुम राई, २७ वर्षीय बलराम राई र ३० वर्षीय देबेन्द्र राई रहेका छन् । अन्य घाइतेहरूमा ३१ वर्षीय सुरेश राई, १९ वर्षीय मनोज राई तथा १७ वर्षीय सदिप राई (ढाडमुनि हिप र टाउकोमा चोट) रहेका छन् । दुर्घटनामा घाइते भएका २७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राई को अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ


प्रतिक्रिया