जनकपुरमा ऐलानी जग्गाको विषयमा झडप हुँदा १२ जना घाइते


जनकपुरमा ऐलानी जग्गाका विषयमा झडप हुँदा १२ जना घाइते भएका छन् । मिथिला नगरपालिका–२ मा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हडपेको भन्दै खाली गराउन गएका स्थानीय र त्यहाँका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् ।

झडपमा घाइते भएका सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार घाइते स्थानीय सुनील परियार, विक्रम परियारलगायतको टाउकोमा चोट लागेको छ ।

अवस्था असहज हुन नदिन ६ सेल अश्रुग्यास समेत प्रहार गरिएको थियो । यसैबीच दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडकखण्ड प्रहरीले खुलाएको छ । प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ ।