कांग्रेसको विशेष महाधिवेशन उद्घाटनअघि ११ बजे र्‍याली निस्कँदै


नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरु हुन लागेको पार्टीको विशेष महाधिवेशन उद्घाटनअघि आज बिहान र्‍याली गरिँदैछ ।

दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरु हुनुअघि काठमाण्डौको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोललगायतका क्षेत्रबाट जुलुस प्रदर्शन गर्न लागिएको हो ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार यी सबै रुटबाट बिहान ११ बजे र्‍याली हुनेछ । आजदेखि शुरु हुन लागेको विशेष महाधिवेशन भोलिसम्म चल्नेछ ।

विशेष महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न सडकमा पार्टीका झण्डाले सिँगारिएका छन् । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।