सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीको आवाडाँडामा रहेको बाल मन्दिर २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको करिब १२ वर्षपछि पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको बाल मन्दिरको भवन मक्किएर, भत्किएर प्रयोगविहीन बनेको थियो। अब भने स्थानीय समुदायको सक्रिय पहलमा मर्मत तथा पुनःसञ्चालनको प्रक्रिया अघि बढाइएको छ।
नेपाल बाल संगठनका अध्यक्ष लाक्पा रिन्जी शेर्पाका अनुसार, नवगठित कार्यसमितिले सक्रिय रूपमा काम थालेपछि बाल मन्दिरको मर्मत सम्भव भएको हो। “१२ वर्षसम्म मर्मत हुन नसकेको बाल मन्दिरलाई नयाँ रूप दिन सम्पूर्ण कार्यसमिति खटिएको छ,” अध्यक्ष शेर्पाले बताउनुभयो।
वि.सं. २०२१ सालमा स्थापना गरिएको उक्त बाल मन्दिर टुहुरा, अनाथ, घरबारविहीन तथा अभिभावकविहीन बालबालिकाहरूको संरक्षण, पालन–पोषण, स्वास्थ्य तथा शिक्षा निःशुल्क रूपमा प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको थियो। तर २०७२ सालको भूकम्पपछि भवन अत्यन्त जिर्ण बनेपछि बाल मन्दिर लामो समयसम्म बन्द र उपेक्षित अवस्थामा रहँदै आएको थियो।
अध्यक्ष शेर्पाका अनुसार, हाल स्थानीय समुदायको सहयोगमा रकम संकलन गरी मर्मत कार्य अघि बढाइएको हो। बाल मन्दिरको बाहिरी संरचनाको काम सम्पन्न भइसकेको छ भने भित्री काम अन्तिम चरणमा पुगेको छ। बाँकी रहेको भित्री काम करिब एक हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो। पुनःनिर्माणको कुल लागत करिब २ लाख रुपैयाँ अनुमान गरिएको छ।
भवन मर्मत कार्य सम्पन्न भएपछि सहयोगदाताहरूलाई आमन्त्रण गरी सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने अध्यक्ष शेर्पाले बताउनुभयो। संकलित रकम, खर्च विवरण तथा आगामी सञ्चालन योजनाबारे पारदर्शी रूपमा जानकारी गराउन सार्वजनिक सुनुवाइ गर्न लागिएको उहाँको भनाइ छ।
बाल मन्दिर पूर्ण रूपमा सञ्चालनमा आएपछि बालबालिकाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालमैत्री कार्यक्रम, शैक्षिक तथा सिर्जनात्मक गतिविधि, पुस्तकालय सञ्चालन, नैतिक शिक्षा तथा मनोसामाजिक सहयोग कार्यक्रमहरू सञ्चालन गरिनेछ। आवश्यक परेमा बालबालिकालाई पठन–पाठनसमेत गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।
उहाँका अनुसार सोलुखुम्बु मात्र होइन, देशभरका धेरै बाल मन्दिरहरू हाल अलपत्र अवस्थामा छन्। ती संस्थाहरूलाई व्यवस्थित रूपमा संरक्षण र सञ्चालन गर्न कानुनी जटिलता, स्रोतको अभाव र स्पष्ट नीतिको कमी प्रमुख चुनौती बनेको छ। यी समस्या समाधानका लागि राज्यको तर्फबाट ठोस नीति र दीर्घकालीन योजना आवश्यक रहेको उहाँको धारणा छ।
स्थानीय समुदायको सक्रियता र सहयोगमा पुनर्जीवित हुँदै गएको सोलुखुम्बुको बाल मन्दिर अब पुनः एकपटक बालबालिकाका लागि आशाको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया