भारत जाँदै रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।

रास्वपाका अनुसार लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् ।

रास्वपा प्रवक्ता मनिष झाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार लामिछानेले भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज विजय चौथाइवालाले पनि प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भ्रमणबारे जानकारी दिएका छन्। उनका अनुसार भाजपा अध्यक्ष नीतिन नवीनसहित वरिष्ठ नेताहरूसँग नयाँ दिल्लीमा भेटघाट हुनेछ ।

भारत भ्रमणका क्रममा लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय तथा रास्वपाका शुभेच्छुकहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । साथै, उनी व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्या पनि जानेछन् ।

लामिछानेको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् ।

रास्वपाले लामिछानेको भारत भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।