एमालेको ‘पार्टी जागरण अभियान’ सुरु

केन्द्रीय सदस्य पालिकामा खटाइने


नेकपा (एमाले) ले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

अभियानलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि)–२ जारी गर्दै अभियान सञ्चालनको औपचारिक घोषणा गरेका हुन्। जेठ ४ गतेदेखि १० गतेसम्म बसेको केन्द्रीय सचिवालय बैठकका निर्णयहरू मातहतका कमिटीमा कार्यान्वयनका लागि पठाउँदै गणतन्त्र दिवसको अवसरमा जारी अपानिमा अभियानको विस्तृत कार्ययोजना समावेश गरिएको छ।एमालेले केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागीय प्रमुखको जिम्मेवारीसँगै आफ्नो क्षेत्रका पालिकामा पार्टी गतिविधि सुदृढ गर्ने दायित्व पनि दिएको छ । केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत अभियानमा परिचालन गरिने भएको छ।

कार्यविभाजनअनुसार पार्टी अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवले संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभाग तथा विभिन्न फाँटको संयोजनको जिम्मेवारी दिइएको छ। पार्टीका सचिवमध्ये हिक्मत कार्की लाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याल लाई संसदीय मामिला विभाग प्रमुख तथा भानुभक्त ढकाल लाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ।

त्यसैगरी छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी प्रदेश इन्चार्ज, यमलाल कँडेललाई कर्णाली प्रदेश इन्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

एमाले स्रोतका अनुसार पार्टीले विशेषगरी केन्द्रीय सदस्यहरूलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गर्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न खोजेको हो। आवश्यकताअनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिइएको बताइएको छ। निर्वाचनपछि केही सुस्त देखिएका पार्टी कमिटी तथा संगठनात्मक गतिविधिलाई पुनः सक्रिय बनाउने अपेक्षासहित अभियान अघि बढाइएको एमाले नेताहरूको भनाइ छ।

कार्यविभाजनअनुसार प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई तथा प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ।