‘भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको छ’: प्रधानमन्त्री साह


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको दाबी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा दुवै देशबीच संवादमार्फत समाधान खोजिने बताए। उनले भने, “तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ। भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको रहेछ। हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौँ।”

यद्यपि, प्रधानमन्त्री शाहले नेपालले भारतको कुन भूभाग मिचेको हो भन्नेबारे कुनै विवरण खुलाएका छैनन्। उनको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेपालका कुनै पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा नेपालले छिमेकी मुलुकको भूमि अतिक्रमण गरेको हुन सक्ने संकेत गरेको सम्भवतः यो पहिलो पटक हो।

संसद्मै बोल्दै प्रधानमन्त्री शाहले काठमाडौंका सुकुम्वासी बस्तीमा बसोबास गरिरहेका नागरिकहरूको जीवन जोखिममा रहेको भन्दै सरकारले उनीहरूको व्यवस्थापन गरिरहेको पनि बताए। उनले वास्तविक सुकुम्वासीको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

“उहाँहरू अत्यन्त संवेदनशील अवस्थामा हुनुहुन्थ्यो। म स्थानीय सरकारमा हुँदा नै संघीय सरकारलाई उनीहरूलाई स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्न र वास्तविक सुकुम्वासीको पहिचान गर्न सुझाव दिएको थिएँ। अहिले त्यहीअनुसार काम भइरहेको छ,” प्रधानमन्त्री शाहले भने।

सुकुम्वासी व्यवस्थापनको विषयमा आलोचना र प्रश्न उठिरहेका बेला उनले समस्या समाधानमा धैर्य गर्न आग्रह गर्दै भने, “३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस्।”

प्रधानमन्त्री शाहका यी दुवै अभिव्यक्तिले संसद् र सार्वजनिक वृत्तमा व्यापक चासो र बहसको विषय बनेको छ।