खालिङ राई समुदायका कान्छा हिमाल आरोही मिलन राईले विश्वको सर्वोच्च शिखर सगरमाथामा किरात खालिङ राई उत्थान संघको झण्डा फहराएर नयाँ इतिहास रचेका छन् ।

यस वर्षको हिमाल आरोहण सिजनमा उनले एकै सिजनमा दुईपटक सगरमाथाको सफल आरोहण गर्दै समुदायलाई गौरवान्वित बनाएका हुन् । मिलन राईले मे २१ तारिख बिहान ३ बजे सगरमाथाको चुचुरोमा पाइला राख्दै किरात खालिङ राई उत्थान संघको झण्डा फहराएका थिए । उनले आफू पनि खालिङ राई समुदायबाट भएकाले आफ्नो समुदायको पहिचान र गौरवलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्याउने उद्देश्यले संस्थाको झण्डा बोकेको बताएका छन् ।
यससँगै उनले आफ्नो तेस्रो सफल सगरमाथा आरोहण समेत पूरा गरेका छन् । मे २७ बिहान ७:४० बजे उनले पुनः सगरमाथाको सफल आरोहण गरेका हुन् । यसपटकको आरोहण यात्रालाई उनले “Everest and Lhotse combo climbing journey” को रूपमा अघि बढाएका थिए । आयरल्याण्डको टोलीलाई सफलतापूर्वक गाइड गरिसकेपछि थप चुनौतीपूर्ण यात्रा गर्ने सोचका साथ उनी पुनः सगरमाथा र ल्होत्से अभियानमा निस्किएका थिए ।

मे २५ मा उनी फेरि आधार शिविरबाट क्याम्प १, २, ३ र ४ हुँदै माथिल्लो क्षेत्रमा पुगेका थिए । मे २७ लाई लक्षित गरी बनाइएको शिखर यात्रा योजना सफल भएको उनले बताएका छन् । तर, यस वर्षको खराब मौसम र खुम्बु आइसफल क्षेत्रमा रहेका विशाल बरफका सेराक (Ice Seracs) का कारण सम्पूर्ण आरोहण तालिका प्रभावित भएको थियो । यसले आरोहण मार्ग खुलाउन र टोलीहरूको आवतजावतमा ढिलाइ भएको थियो । यही कारण सगरमाथा आरोहणको अन्तिम ‘समिट विन्डो’ मे २९ अघि मात्रै उपलब्ध भएको उनले उल्लेख गरेका छन् ।
ल्होत्से आरोहणको योजना भने समय अभावका कारण अर्को वर्षका लागि स्थगित गरिएको उनले जानकारी दिएका छन् ।
मिलन राई किरात खालिङ राई उत्थान संघको विद्यार्थी विभागका सह–सचिव समेत हुन् । सन् २०२३ देखि व्यावसायिक हिमाल आरोहण सुरु गरेका उनले कम उमेरमै सगरमाथासहित मेरा पिक, हिमलुङ हिमाल, आमाडब्लम, आइसल्याण्ड पिक लगायतका हिमालहरूको सफल आरोहण गरिसकेका छन् ।

यता, किरात खालिङ राई उत्थान संघले पनि आफ्नो संस्थाको झण्डा पहिलोपटक सगरमाथाको शिखरमा पुगेकोमा गर्व व्यक्त गरेको छ । संघका अध्यक्ष बलबहादुर राईले समुदायका कान्छा आरोही मिलन राईले संस्थाको पहिचानलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्याएकोमा खुसी व्यक्त गरे । “हाम्रो समुदायका सबैभन्दा कान्छा आरोही मिलन राईले संस्थाको झण्डा चोमोलुङ्माको शिखरमा पुर्याएर फहराउनुभयो । यो हाम्रो लागि अत्यन्त गौरवको विषय हो,” अध्यक्ष राईले भने, “तीन चुला, चिन्डो र धनुकाँडको प्रतीक रहेको हाम्रो झण्डा सगरमाथाको शिखरमा फहराउँदा सम्पूर्ण समुदाय गर्वले उत्साहित भएको छ ।”
मिलन राईको यो उपलब्धिलाई खालिङ राई समुदायले मात्र नभई नेपाली हिमाल आरोहण क्षेत्रले समेत प्रेरणादायी सफलताको रूपमा हेरेको छ ।


प्रतिक्रिया