सगरमाथामा नेपाली कीर्तिमान

कामीरिता ३२औँ पटक, लाक्पा शेर्पाको ११औँ ऐतिहासिक आरोहण


नेपाली पर्वतारोहण क्षेत्रले फेरि एकपटक विश्वमञ्चमा ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पालाक्पा शेर्पाले सगरमाथामा नयाँ कीर्तिमान कायम गरेका छन्।

५६ वर्षीय कामीरिता शेर्पाले ३२औँ पटक सगरमाथा सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका छन्। सोलुखुम्बुको थामे निवासी उनले आज बिहान १०ः१२ बजे चुचुरोमा पुग्दै यो उपलब्धि हासिल गरेका हुन्। उनी सेभेन समिट ट्रेकमार्फत आरोहणमा सहभागी भएका थिए। सन् १९९४ देखि सगरमाथा आरोहण सुरु गरेका शेर्पा निरन्तर रूपमा विश्वभरका पर्वतारोहीका लागि प्रेरणाको स्रोत बनेका छन्।

यस्तै, विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी छन्। उनी आज बिहान करिब ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन्। यससँगै उनी सगरमाथा सबैभन्दा बढी पटक आरोहण गर्ने पहिलो महिला बनेकी छन्।

सेभेन समिट ट्रेकका अनुसार यी दुवै आरोहीको उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउनुका साथै विश्वभरका पर्वतारोही र विशेषगरी महिलाहरूलाई प्रेरणा प्रदान गरेको छ।