कोइला बालेर सुत्दा निसास्सिएर शिशुको मृत्यु, आमासहित २ जना अचेत


सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् । ‎‎मृत्यु‌ हुनेमा तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

‎‎भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी करिब ३२ वर्षीया तारा, उनकी करिब १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा कोठामा कोइला बालेर सुतेका थिए । ‎‎आज बिहान अबरसम्म पनि उनीहरू नउठेपछि घरबेटीले बोलाउन जाँदा छोरा प्रकाश बुढाले ढोका खोलेका थिए । ‎

ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने १० वर्षीय छोरा प्रकाशको अवस्था सामान्य रहेको छ । अहिले अस्पतालमा ताराका श्रीमान् गोपी बुढाको उपस्थितिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्कासहितको प्रारम्भिक कार्य सम्पन्न गरिसकेको छ । चिसोबाट बच्न झ्याल ढोका थुनेर कोइला वा ब्रिकेट बालेर सुत्दा अक्सिजनको कमी भई यस्ता दुर्घटना हुने गरेकाले प्रहरीले सचेत रहन आग्रह समेत गरेको छ ।