सार्कलाई गतिशील बनाउने नयाँ संकल्प आवश्यकः प्रधानमन्त्री


प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन् ।

सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरिन् ।

‘झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ,’ उनले सन्देशमा उल्लेख गरिन् ।