सोलुखुम्बुमा यात्रुबस दुर्घटना: दुई घाइते, चालक फरार

साझा प्रेस
5.4k
Shares

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८, बनभाडेस्थित सिद्धिचरण लोकमार्गमा आज बिहान यात्रुबस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

सदरमुकाम सल्लेरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३२७ नम्बरको श्री उग्रचण्डी यात्रुबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

दुर्घटनामा १० जना सवार रहेकोमा दुई यात्रु घाइते भएका छन् । दुर्घटनामा जानुका रसाईली (३६, रौतहट, गरुडा न.पा.–६) को टाउकोमा चोट लागेको छ भने भारत, उत्तर प्रदेशका एकिनचन जेन दायाँ पाखुरामा चोट लागेको छ।घाइते दुवैलाई तत्कालै उपचारका लागि ओखलढुङ्गा सामुदायिक मिसन अस्पताल पठाइएको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा छन् ।

दुर्घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी चौकी केरूङबाट प्र.ना.नि. दामोदर सिंहको कमान्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनालगत्तै बस चालक विनोद अधिकारी (ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका–३ उँवु) फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, दुर्घटनाबाट सडक अवरुद्ध नभए पनि बसको बायाँ भागमा क्षति पुगेको छ।

अहिले बस उठाउने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।