कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै पवित्र स्नान गरी दिनभर निर्जल व्रत बसेका बर्तालुहरूले बेलुकी सूर्यदेवलाई अघ्र्य अर्पण गर्दै सूर्य आराधनाको प्रमुख विधि पूरा गर्दैछन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्य उपासना, आराधना र पूजाको यो पर्व शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो । छठ पर्वलाई सूर्य देवताको आराधना, परिवारको सुख–समृद्धि र आरोग्यका लागि गरिने अत्यन्तै पवित्र पर्वका रूपमा मनाइन्छ ।
पौराणिक मान्यता र उत्पत्ति
महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । त्यही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको जनविश्वास छ ।
सूर्य पुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । सोही घटना छठ पर्वको प्रारम्भिक उत्पत्तिका रूपमा मानिन्छ ।
वैज्ञानिक र धार्मिक दृष्टि
सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यको मूल स्रोतका रूपमा लिइन्छ । सूर्य किरणबाट रोग निको पार्ने चिकित्सा पद्धति सम्बन्धी ग्रन्थहरू प्राचीन कालदेखि लेखिँदै आएका छन् । साम्ब पुराणमा कृष्णका पुत्र साम्बले सूर्य आराधनाबाट कुष्ठ रोग निको पारेको उल्लेख पाइन्छ । छठ व्रतले दुःख, दरिद्रता र रोगबाट मुक्ति दिलाउने जनविश्वास छ ।
व्रत विधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन पञ्चमीका दिन ‘खरना’ मनाइन्छ – सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइन्छ र व्रतालुले प्रसादस्वरूप ग्रहण गर्छन् ।
षष्ठीका दिन अर्थात् आज निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ । धार्मिक विश्वासअनुसार यसरी विधिपूर्वक अघ्र्य दिएमा चर्मरोग नलाग्ने र दीर्घायु प्राप्त हुने मानिन्छ ।
राजधानीमा तयारी
राजधानी काठमाडौंका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती किनारलगायत स्थानहरूमा पूजा अर्चनाका लागि विशेष सजावट गरिएको छ । गुह्येश्वरी–गौरीघाट छठ पूजा समितिले सुरक्षासँगै सरसफाइ र विधि व्यवस्थापनका तयारी पूरा गरेको जनाएको छ ।
पूर्वमा सीमित रहँदै आएको छठ पर्वले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । विसं २०४६ पछि सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो । हाल फेरि यो बिदा निरन्तर रूपमा दिइँदैछ ।
छठ व्रतालुहरू चतुर्थीदेखि नै चोखो सात्विक भोजन ग्रहण गरी प्याज, लसुनलगायत तामसी पदार्थ त्याग्ने गर्छन् । केही बर्तालुले कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै सात्विक जीवनशैली अपनाउने परम्परा पालन गर्छन् ।
यसैले छठ पर्व पवित्रता, आत्मसंयम र सूर्य आराधनाको प्रतीक पर्वका रूपमा देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।

प्रतिक्रिया