सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
आज बिहान करिब २ बजे ७३ वर्षीय पुजारी रामदुलार साहको गोली प्रहार गरी हत्या गरिएको पुजारी परिवारका सदस्य रामसुन्दर साहले पुष्टि गरे। गाउँको पूर्वपट्टि रहेको कबिर बाबा मन्दिरमा साह कुटी बनाएर वर्षौंदेखि एक्लै बस्दै आएका थिए।
स्थानीयको भनाइअनुसार, अज्ञात समूहले राति पुजारीलाई कुटीबाट निकालेर सडकमा पिठ्युँतर्फ गोली प्रहार गरेको हो। गोली लागेर घटनास्थलमै साहको मृत्यु भएको बताइएको छ।
घटना भएको खबर पाएलगत्तै स्थानीयले काचनस्थित प्रहरी चौकीमा जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली पुगेर मुचुल्का संकलन तथा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट दुईवटा गोलीका खोका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधिमाथि निगरानी बढाएको र दोषी पहिचानका लागि अनुसन्धान तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया