असोज १७ र १८ गतेको अविरल वर्षाले बगाएको बीपी राजमार्ग आज (शुक्रबार) साँझदेखि पुनः सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। देशको सबैभन्दा छोटो र रणनीतिक हिसाबले महत्वपूर्ण यो राजमार्ग पुनः खुल्न लागेपछि पूर्व–पश्चिम आवागमन सहज हुने अपेक्षा गरिएको छ।
सडक विभागका अनुसार राजमार्गका १६ स्थानमा बाढीपहिरोले करिब ३.५ किलोमिटर सडक बगाएको थियो। त्यसका साथै, गत वर्षको बाढीपछि अस्थायी रूपमा बनाइएको ५.३ किलोमिटर डाइभर्सन पनि यसपटकको बाढीले पूर्ण रूपमा नष्ट गरेको थियो।
सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार, अहिले नयाँ डाइभर्सन निर्माण र मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। ‘आज साँझसम्म एकतर्फी रूपमा भए पनि सवारी सञ्चालनको वातावरण बनाइनेछ,’ उनले भने।
भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले बिहीबार अवलोकनका क्रममा शुक्रबार साँझसम्म सडक सञ्चालन योग्य बनाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि निर्माण व्यवसायीहरूले रातभर काम गरेर डाइभर्सन निर्माणलाई तीव्रता दिएका थिए।
बीपी राजमार्गलाई काठमाडौं र पूर्वी नेपालबीचको छोटो तथा वैकल्पिक जीवनरेखा मानिन्छ। राजमार्ग अवरुद्ध हुँदा साेलुखुम्बु, सिन्धुली, उदयपुर, खोटाङ, धनकुटा, ओखलढुंगा र भोजपुर जाने यात्रुहरूलाई लामो घुमाउरो मार्ग प्रयोग गर्नुपरेको थियो।
राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो। आर्थिक वर्ष २०५३/५४ मा सुरु भएको यो परियोजना २०७२ असार १८ गते सम्पन्न भएको थियो।
स्थानीय व्यवसायीहरूले राजमार्ग सञ्चालनले राहतको सास फेर्ने बताएका छन्। उनीहरूका अनुसार बाटो अवरुद्ध हुँदा सामान आपूर्तिमा कठिनाइ र भाडा दरमा अस्वाभाविक वृद्धि भएको थियो।

प्रतिक्रिया