मुक्त हुने युद्धबन्दीको सूचीमा छैन विपिन जोशीको नाम

साझा प्रेस
50
Shares

इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि मुक्त गरिने २० जना युद्धबन्दीको सूची सार्वजनिक गरिएको छ, तर सो सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम भने छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र हमासले छोड्ने भनिएका २० जना सबै इजरायली नागरिक हुन्। ‘मुक्त हुने भनिएका व्यक्तिहरूमध्ये विपिनको नाम छैन,’ राजदूत पण्डितले भने।

अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न विहीबार युद्धविराममा सहमति भएको थियो। सम्झौताअनुसार पहिलो चरणमा हमासको कब्जामा रहेका ५० जना (जीवित र मृतक) लाई इजरायल फर्काइने सहमति भएको हो।

कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई हमास लडाकुहरूले कब्जामा लिएर गएका थिए।

विपिनलाई पछिल्लो पटक सन् २०२३ नोभेम्बर १७ मा गाजा सिटीस्थित अल–शिफा अस्पतालमा देखिएको पुष्टि भएको थियो। त्यसपछि उनको अवस्था अज्ञात बनेको छ।

राजदूत पण्डितले आफू इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको बताए। “अहिलेसम्म विपिनको जीवनबारे ठोस जानकारी छैन, तर निकट भविष्यमै केही खबर आउने आशा छ,” उनले भने।

नेपालको परराष्ट्र मन्त्रालयले पनि विपिनको अवस्थाबारे विभिन्न माध्यमबाट जानकारी लिने प्रयास भइरहेको जनाएको छ। मन्त्रालयका एक कर्मचारीका अनुसार इजरायल सरकारको तर्फबाट विपिनबारे ‘जुनसुकै अवस्थाको’ सूचना आउनसक्ने भनिएको छ।

‘इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउन सक्छ, त्यसका लागि परिवार तयार रहन भनिएको छ,’ मन्त्रालय स्रोतले भन्यो।