जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोकेपछि नेपाली क्रिकेट टिमको वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज प्रभावित हुने जोखिम देखिएको छ ।
नेपालले २७ देखि ३० सेप्टेम्बरसम्म यूएईको शारजाह रंगशालामा वेस्ट इन्डिजसँग तीन टि–२० अन्तर्राष्ट्रिय म्याच खेल्ने तय भएको छ । यसका लागि शुक्रबार नेपाली टोली यूएई प्रस्थान गर्ने तालिका थियो तर खेलाडीहरुलाई अझै भिसा प्राप्त भएको छैन ।
क्रिकेट संघ नेपाल (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरुले केही दिनअघि नै आवेदन दिएका भए पनि दूतावासले अझै भिसा जारी नगरेको हो । “अझै केही दिन समय रहेकाले भिसा आउने अपेक्षा गरिएको छ,” उनले भने ।
यसअघि खेलाडीहरुलाई यूएई दूतावासले सहज रूपमा एक दिनमै भिसा दिने गरेको थियो । तर हाल भिसा रोकिनुका कारण क्यानले यूएई क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) सँग पहल गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
“रेगुलर प्रक्रिया अड्किएपछि हामीले यूएई बोर्ड र आइसीसीमा पहल गरेका छौं,” उनले भने, “यदि त्यहाँबाट पनि समाधान भएन भने सरकारको कूटनीतिक पहल आवश्यक पर्छ ।”
जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा कैदी कारागारबाट निस्किएपछि यूएई सरकारले नेपालीलाई भिजिट भिसा अस्थायी रूपमा रोक्ने निर्णय गरेको बताइए पनि औपचारिक सूचना भने जारी गरिएको छैन ।
प्रतिक्रिया