आज भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दैछ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहणका क्रममा चन्द्रमा रातो रंगको देखिने भएकाले यसलाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज राति १० बजेर ११ मिनेटमा सुरु भई १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ। मौसम सफा रहे काठमाडौंसहित नेपालभर करिब साढे तीन घण्टा चन्द्रग्रहण देख्न सकिनेछ।
कसरी देखिन्छ ब्लड मुन ?
खगोलविद्हरूका अनुसार पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ भने रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिन्छ। यही कारण ग्रहणको बेला देखिने रातो चन्द्रमालाई ब्लड मुन भनिन्छ।
कुन–कुन ठाउँबाट देखिन्छ ?
यो खग्रास चन्द्रग्रहण नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
आगामी ग्रहण
यसै वर्ष फागुन शुक्ल पूर्णिमामा पनि अर्को खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ। खगोलीय नियमअनुसार चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औंसीका दिन मात्र लाग्ने गर्छ।
ग्रहण किन लाग्छ ?
खगोल विज्ञानका अनुसार सूर्य, पृथ्वी र चन्द्रमा आ–आफ्नो कक्षमा घुम्ने क्रममा एउटै रेखामा आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ।
पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरूपमा ढाक्दा खग्रास र आंशिक ढाक्दा खण्डग्रास चन्द्रग्रहण भनिन्छ।
धार्मिक र वैज्ञानिक दृष्टिकोण
धार्मिक मान्यताअनुसार ग्रहणको बेला पूजापाठ, खाना खाने, हाँस्यव्यंग्य वा सहबास गर्नु अशुभ मानिन्छ। तर वैज्ञानिकहरूले यी मान्यतालाई समर्थन गर्दैनन्। बरु उनीहरूले यस्तो खगोलीय घटनालाई प्रयोगात्मक रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।
साथै, चन्द्रग्रहणलाई नाङ्गो आँखाले लामो समयसम्म नहेरी सुरक्षित तरिकाले अवलोकन गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्।
प्रतिक्रिया